काठमाडौं । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन)मार्फत रुट परमिट जारी गरेको छ । निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिन सक्ने व्यवस्था गरेको हो ।
निषेधित क्षेत्रमा जाने पर्यटकलाई यसअघि अध्यागमन विभागले कागजी प्रक्रियाबाट मात्र अनुमतिपत्र प्रदान गर्दै आएकोमा गत हप्तादेखि भने विद्युतीय माध्यममार्फत रुट परमिट दिने व्यवस्था मिलाएको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाले जानकारी दिए । उनका अनुसार म्याजिकल नेपाल प्रालिमार्फत तीनजना चिनियाँ नागरिकको अनलाइन माध्यममार्फत रुट परमिट जारी गरिएको छ । अनलाइनमार्फत रुट जारी हुने चिनियाँ नागरिकमा बिङ सी, छिछि पिङ, विनहुवा लुओ छन् ।