काठमाडौं । परराष्ट्र मन्त्रालयमा बिहीबार पदबहालीपछि नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
उनले विश्वका शक्तिशाली र सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउननुका साथै दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न र अझ उन्नत बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।
मन्त्री श्रेष्ठले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा तथा प्रवर्द्धन गर्नु सरकारको प्राथमिकताको विषय भएको बताए । उनले विदेशमा रहेका नेपाली कामदारको हितको रक्षा गर्ने विषय सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।
आर्थिक कूटनीतिलाई महत्वका साथ अघि बढाउन ध्यान दिने तथा राजदूत नियुक्तिको मापदण्डलाई अझ राम्रो बनाउन र नियमित मूल्याङ्कन गर्ने व्यवस्थामा आफ्नो ध्यान जाने बताए । उनले कूटनीतिक आचारसंहिता कार्यान्वयन गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।