काठमाडौं । बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ११ हजार पाँच सय नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिना अर्थात् माघ मसान्तसम्म सञ्चालनमा रहेका एक सय १२ वटा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार पाँच सय ८७ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकहरूको पाँच हजार ३६, १७ वटा विकास बैंकहरूको एक हजार एक सय ३४, १७ वटा फाइनान्स कम्पनीहरूको दुई सय ८८ र ५७ वटा लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार एक सय २९ वटा शाखा कार्यालय सञ्चालनमा छन् । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार पाँच सय ८९ वटा रहेको थियो । असारयता दुईवटा शाखा कार्यालय घटेको छ ।
असार मसान्तमा वाणिज्य बैंकका शाखा कार्यालय पाँच हजार ४९, विकास बैंकका एक हजार एक सय २८, फाइनान्स कम्पनीका दुई सय ८४ र लघुवित्त वित्तीय संस्थाका पाँच हजार एक सय २८ वटा शाखा कार्यालय सञ्चालनमा थिए ।
असारयता वाणिज्य बैंकका १३ वटा शाखा कार्यालय बन्द भएका छन् । वाणिज्य बैंकबाहेकका वित्तीय संस्थका शाखा कार्यालय असारको तुलनामा माघमा बढेका छन् । विकास बैंकहरूले चालू आर्थिक वर्षको सात महिनामा छवटा शाखा कार्यालय थपेका छन् । यस्तै फाइनान्स कम्पनीहरूले चारवटा र लघुवित्त वित्तीय संस्थाले एकवटा शाखा कार्यालय थपेको केन्द्रीय बैंकको तथ्यांकमा देखिन्छ ।
२०७९ असार मसान्तको तुलनामा गत माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बढेको देखिन्छ । २०७९ असार मसान्तमा ११ हजार पाँच सय २८ वटा शाखा कार्यालय रहेकामा २०८० माघसमम ५६ वटाले बढेको छ । २०७९ असार मसान्तममा वाणिजय बैंकका कुल शाखा कार्यालय पाँच हजार नौवटा थिए । यस्तै विकास बैंकहरूको एक हजार एक सय १८ वटा, फाइनान्स कम्पनीहरूको दुई सय ६७ वटा र लघुवित्त वित्तीय संस्थाका पाँच हजार एक सय ३४ वटा शाखा कार्यालयहरू सञ्चालनमा थिए ।
केन्द्रीय बैंकका अनुसार २०८० माघ मसान्तसम्म २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५७ वटा लघुवित्त वित्तीय संस्था र एकवटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।
बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय घटेको देखिए पनि वित्तीय पहुँचलाई भने नयाँ ढंगले विस्तार गरिरहेको पाइन्छ । केही वर्षयता एटीएम काउन्टर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङलाई पनि प्राथमिकताका साथ विस्तार गरिरहेका छन् ।
२०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेका एटीएम काउन्टरको संख्या पाँच हजार ६४ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूले चार हजार छ सय ७३, विकास बैंकहरूले तीन सय ४७ वटा र फाइनान्स कम्पनीहरूले ४४ वटा एटीएम काउन्टहरू सञ्चालन गरेका छन् । गत आर्थिक वर्षको माघ महिनामा अवधिमा कुल चार हजार छ सय ६८ वटा एटीएम काउन्टर सञ्चालनमा थिए । यसमध्ये वाणिज्य बैंकहरूको चार हजार दुई सय ७४ वटा, विकास बैैंकहरूको तीन सय ३० वटा र फाइनान्स कम्पनीहरूको ४४ वटा एटीएम काउन्टर सञ्चालनमा थिए । गत आर्थिक वर्षमा धेरै बैंक तथा वित्तीय संस्था एक–आपसमा गाभिएकाले बैंकका शाखा संख्या घट्दै गएको देखिन्छ ।