काठमाडौं,नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगी विनोद कुमार चौधरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी जग्गा प्रकरणमा बयान लिएलगत्तै बिहीबार नै श्रीलंकातर्फ उडेका छन् । सीआईबीले सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीसँग बयान लिएको थियो ।
बाँबसारी छालाजुत्ता कारखानाको स्वामित्वमा रहेको सरकारी जग्गामध्ये १० रोपनी आफ्नो कम्पनीमा ल्याउन खेलेको भूमिकाको विषयमा सीआईबीले कांग्रेस सांसद चौधरीसँग बयान लिएको हो ।
सीआईबीले बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा व्यक्तिको नाममा बनाएको प्रकरणको अनुसन्धानका लागि गत माघ १८ गते सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक एवं सांसद विनोदका भाइ अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका सबैलाई सीआईबीले कागजात गराइसकेको छ । उनीहरू सबैको बयानका आधारमा सांसद चौधरीसँग बयान लिनैपर्ने देखिएपछि सीआईबीले बुधबार सभामुख देवराज घिमिरेलाई जानकारी गराएर बिहीबार सरकारी वलिकको कार्यालयमा बयान लिएको हो ।
बयान दिएपछि चौधरी बिहीबार करिब २ बजे श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका उठेका हुन् । चौधरीसँग सरकारी वकिल कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि बयान लिइएको थियो । सरकारी वकिल र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको कारण यो विषयलाई प्रहरीले चाँडो टुंग्याउन लागेको देखिन्छ ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको हो । चौधरीले भने सरकारी वकिलको कार्यालयमा इन्कारी बयान दिएका छन् । उनले कानुनबमोजिम नै जग्गा खरिद गरिएको दाबी गरेका छन् । तर, उनको दाबीलाई सीआईबीका अधिकारीहरूले अस्वीकार गरेको स्रोतको दाबी छ ।
सरकारी जग्गा गलत तरिकाबाट आफ्नो कम्पनीको नाममा ल्याउन सांसद चौधरीले भूमिका खेलेका थिए । तर, आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको भन्दै उनले कारबाही अगाडि नबढाउन चेतावनी दिएका थिए । सरकारको नाममा रहेको बाँसबारीको १० रोपनी जग्गा विनोदले आफू सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा गैरकानुनीरूपमा ल्याएका थिए । २०४३ साल कात्तिक २७ गते च्याम्पियन फुटवयेर कम्पनी दर्ता गरेर २०४४ भदौ ५ गते बाँसबारी छाला जुत्ताको जग्गामध्ये छ रोपनी जग्गा उक्त कम्पनीमा दर्ता गरिएको थियो । सो च्याम्पियन फुटवयेरको सेयरसदस्य भने अहिलेका सांसद विनोद पनि थिए । उक्त जग्गा चौधरी ग्रुपले कब्जा गरेको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले नै उजुरी गरेपछि यसको अनुसन्धान भइरहेको हो ।