काठमाडौँ । फागुपूर्णिमाका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताएका छन् ।
अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण नेपाली समाजमा सबै जाति, समुदायका मौलिक विशेषता बोकेका पर्व, संस्कृतिको जगेर्नाबाट समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।
नेपालले सामाजिक एकता अभिवृद्धि, राष्ट्रिय एकतालाई बलियो बनाउने यस्ता पर्वले परम्परागत मौलिक पक्षका साथै राष्ट्रको गौरव बढाउने भन्दै हाम्रा पहिचान निर्माणका लागि चाडपर्वको उल्लेखनीय भूमिका रहेकाले तिनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँए । उनले विविध विशेषताका कारण विश्वमा हाम्रो छुट्टै पहिचान बनेको सन्देशमा उल्लेख गरेका छन् ।
अध्यक्ष नेपालले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका पर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने बताएका छन् । समाजमा विद्यमान सबै प्रकारका विभेद अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।