नयाँदिल्ली, जेठ २६
भारतमा कोरोनाभाइरसबाट संक्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना संक्रमित भेटिएका छन् । संक्रमितहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाइएको छ । त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या पनि २८७ रहेको अधिकारीहरुले जनाएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा पछिल्लो विवरणमा नै सबैभन्दा धेरै संक्रमित देखिएका हुन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । कुल संक्रमितमध्ये एक लाख २० हजार ४०६ जना अझै पनि संक्रमित अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल मृतकको संख्या छ हजार ९२९ पुगेको छ भने एक लाख १९ हजार २९३ जना संक्रमण मुक्त भइसकेका छन् ।