काठमाडौं, जेठ २६
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६९ लाख १६ हजार २ सय ३३ जना संक्रमित भएका छन् । पछिल्लो विवरणअनुसार विश्वभर चार लाख दुई हजार ६ सय ९४ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख नौ हजार ८ सय २ कोभिड–१९ संक्रमित व्यक्तिको मृत्यु भएको छ भने १९ लाख २० हजारभन्दा बढी संक्रमित रहेका छन् । संक्रमणका हिसाबले दोस्रो धेरै संक्रमित ब्राजिलमा छ लाख ७२ हजार ८ सय ४६ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ब्राजिलमा आइतबारसम्म कोभिड–१९ संक्रमितको संख्या ३५ हजार ९३० पुगेको बताइएको छ ।
त्यसैगरी रूसमा चार लाख ६७ हजार ७३ र बेलायतमा दुई लाख ८६ हजार व्यक्ति संक्रमित भएका छन् । बेलायतमा कोभिड–१९ संक्रमित ४० हजार ५ सय ४८ व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म कोभिड–१९ संक्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ । रूसमा संक्रमितको संख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् पाँच हजार ८५९ व्यक्तिको मृत्यु भएको छ । यसैबीच कोरोना संक्रमित व्यक्तिको संख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा आइतबारसम्म दुई लाख ४७ हजार ६७८ व्यक्ति संक्रमित भेटिएका छन् भने करिब १० हजार व्यक्तिको मृत्यु भएको छ । भारत कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।