काठमाडौँ । लोकतन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै सभामुख देवराज घिमिरले देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार जारी गरेको शुभकामना सन्देशमा सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासका लागि आधार प्रदान गर्ने उल्लेख गर्दै सभामुख घिमिरले सन्देशमा भनेका छन्, “जनमुखी लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो, यसलाई सार्वजनिक नीति, योजना, कार्यक्रम र तिनको कार्यान्वयनमा उतार्न जरुरी छ, नेपालको लोकतन्त्रको रक्षा र प्रवर्द्धनमा नेपालको संसद्ले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।”
२०६२/६३ को आन्दोलनपछि राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।