काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रूपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा २०७९/८० मा सबैभन्दा बढी, २१ दशमलव एक प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई सम्मानित भएको हो । राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसापत्र प्रदान गरेका हुन । रेमिट्यान्स आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकाले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सव अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ । ग्लोबल आइएमईले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । यो बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।