काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएक छन् । उद्योग मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
‘तुलनात्मक लाभ लिई व्यापार विस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक छ, यसका लागि आगामी बजेटमा व्यवस्था हुनेछ, उद्योगको प्रवद्र्धन गर्न, स्वदेशी उद्योगलाई उच्च महत्व दिन पनि मन्त्रालय प्रतिबद्ध छ, सोही दिशामा अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ र आगामी दिनमा पनि दिइनेछ, व्यक्तिगत रुपमा पनि म यस कार्यका लागि विशेष पहल गर्नेछु,’ मन्त्री भण्डारीले भने । मन्त्री भण्डारीले देशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा न्यून रहेको उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताए । उद्योग क्षेत्रको योगदान अर्थतन्त्रमा नभएसम्म आर्थिक समृद्धि नहुने उनको भनाइ थियो । यसका लागि ठूलै सुधारको आवश्यकता रहेको मन्त्री भण्डारीले बताए ।
सरकार निजी क्षेत्रसँग मिलेर उद्योगमा लगानी प्रोत्साहन गर्दै यसको योगदान बढाउन सबै अगाडि बढ्नुपर्ने मन्त्री भण्डारीको जोड थियो । ‘स्वदेशी लगानीका साथै विदेशी लगानी पनि आकर्षित गर्न, उद्योग क्षेत्रमा लगानी कसरी प्रवद्र्धन गर्न सकिन्छ र विदेशी लगानीकर्तालाई भित्र्याउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको अनुभवसमेतका आधारमा विदेशी लगानीकर्ता प्रोत्साहन गर्न निजी क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्दछु,’ उभने भने ।
नेपाल उद्योग परिसङ्घले आफ्नो स्थापनाको समयदेखि नै मुलुकको औद्योगिक प्रवद्र्धनका लागि खेलेको भूमिकाको प्रशंसा गदै उनले विशुद्ध उद्योगीहरुको संस्थाका रुपमा रही परिसङ्घले सरकारको नीति कार्यान्वयनका लागि गरेको सहजीकरण एवं औद्योगिक उत्पादन बढाउनमा गरेको योगदानप्रति धन्यवाद व्यक्त गरे ।
नेपाल सरकार र परिसङ्घबीच समझदारीमा परिसङ्घले सञ्चालन गरिरहेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न कोसेढुङ्गा साबित हुनेमा मन्त्री भण्डारीले विश्वास व्यक्त गरे ।