काठमाण्डौं । बाराही हस्पिटालिटीअन्तर्गत चितवनमा अवस्थित बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । प्लास्टिक, सिसाका बोतलसहित करिब तीन ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ ।
लजदेखि तीन किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एन्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए । रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ । रिसोर्टले वातावरण संरक्षणलाई विशेष जोड दिएकाले ‘टफ्ट टाइगर’अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ । यस लज २०१५ देखि हालसम्म निरन्तर उच्चस्तरको (आउटस्ट्यान्डिङ प्राक्टिस) विधाअन्तर्गत सर्टिफाइड हुँदै आएको छ । हालै ‘आईएसओ–१४००१’ बाट पनि अन्तर्राष्ट्रियस्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (ईएमएस)सहितको लजको रूपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ । चितवन मेघौलीमा राप्ती नदी किनारमा रहेको लज जंगल थिममा बनेको छ ।