दोलखा । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले चालू आर्थिक वर्षको नौ महिनामा ४३ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । छ हजार तीन सय सवारीसाधन कारबाही तथा जरिवानामार्फत सो रकम संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने आठ सय १३ वटा ट्रक कारबाहीमार्फत सात लाख ३१ हजार रुपैयाँ, नौ सय २५ वटा बस कारबाहीबाट सात लाख ७९ हजार रुपैयाँ, एक हजार आठ सय १२ वटा कारजिप कारबाहीबाट १४ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको दोलखाका ट्राफिक इन्चार्ज ठाकुर भट्टराईले जानकारी दिए । उनका अनुसार ३४ वटा ट्याक्टर कारबाहीमार्फत ३१ हजार रुपैयाँ र एक हजार सात सय १६ वटा मोटरसाइकल कारबाहीबाट १३ लाख ९८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको हो । यसैगरी दोलखामा चालू वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात जना पुरुष तथा चार जना महिला रहेका छन् । त्यस्तै, २२ वटा सवारी दुर्घटनामा परेर ६७ जना घाइते भएका थिए ।