काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई अन्यत्र सार्नुपर्ने बताएका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले औद्योगिक क्षेत्रलाई सहरी क्षेत्रभन्दा धेरै टाढा राख्नुपर्ने बताए ।
‘विकसित मुलुकमा सहरी क्षेत्रभन्दा टाढा छुट्टै स्थानमा उद्योग निर्माण गरिएका छन्, हामी कहाँ पनि सुरक्षित ठाउँमा औद्योगिक क्षेत्र निर्धारण गरेर त्यहाँ उद्योग निर्माण गर्नुपर्छ’, उनले भने । साथै, क्षेत्र निर्धारण गरेर उद्योगका लागि आवश्यक पूर्वाधार निर्माण सरकारको जिम्मेवारी भएको उनले बताए । यस्तै, मन्त्री भण्डारीले ग्रिल तथा स्टील व्यवसायीका मागका सन्दर्भमा उद्योग मन्त्रालयबाट अधिकतम माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । साथै, व्यवसायीलाई नयाँ प्रविधिको प्रयोग गर्न पनि आग्रह गरे । अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले यहाँ उत्पादन हुने वस्तुको बजार माग बढाउन विदेशी सामग्री प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए ।