काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घको जलवायुसम्बन्धी एजेन्सी ‘युएन एफसिसी एसबिएसटिए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनले निम्त्याएका असर एवं यस मुद्दामा नेपालले गर्दै आएको नेतृत्वदायी भूमिकालगायतका विषयमा छलफल भएको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरण गर्नका लागि जलवायु कोषबाट नेपालले पर्याप्त लाभ पाउनुपर्ने बताए। उनले जलवायु परिवर्तनको असर कम गर्नका लागि योजनाबद्ध एवं संस्थागत तवरले अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसका लागि युएन एफसिसीको सहयोग आवश्यक छ भने । भेटवार्तामा अध्यक्ष ह्यारीले हिमाल र पर्वतीय मुलुकका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेपालको सक्रियप्रति खुसी व्यक्त गरे । उनले जलवायुसम्बन्धी विश्व सम्मेलनमा नेपालले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई धन्यवाद व्यक्त गरे । रासस