काठमाडौं, असार १
नेपाल बंगलादेश बैंकले मुुद्दती निक्षेपमा कोरोना भाइरस (कोभिड १९) बीमा पनि सँगै गरिदिने योजना सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार दुुईवर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरूलाई एक लाखको कोभिड–१९ बीमा गरिदिने योजना ल्याएको हो । हालको स्वास्थ परिस्थितिलाई मध्यनजर गर्दै नेपाल बैंकले यो योजना ग्राहकको आवश्यकता महसुस गरी पस्केको जनाएको छ ।
यस योजनाअन्तर्गत् ग्राहकहरूले न्यूनतम एक लाख रूपैयाँको मौज्दातको दुुई वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्ने बैंकले जानकारी दिएको छ । बैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब १४ करोड १० लाख ३३ हजार एक सय २० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब छ करोड ६० लाख १० हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ४५ करोड ५८ लाख १४ हजार रूपैयाँ रहेको बैकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ५३ अर्ब ३१ करोड ४९ लाख ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब चार करोड चार लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ७६ प्रतिशत रहेको छ ।गत आवको सोही अवधिमा भने बैंकले ५५ अर्ब ७६ करोड ४३ लाख रूपैयाँ निक्षेप संंकलन गरी ५२ अर्ब ५३ करोड ९२ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।