चौतारा (सिन्धुपाल्चोक) । यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै नेपाल–चीन सीमाको तातोपानी नाका सुनसान भएको छ । प्रायः अधिकांश पसल र होटेल बन्द छन् । नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । जिल्लाको पूर्वी भेगका बासिन्दा यहाँका चिनियाँसँग मिलेर आफ्नो मुख्य आयस्रोत यार्सागुम्बा सङ्कलनका लागि चीन र नेपालको उच्च लेकक्षेत्र पुगिसकेका छन् ।
चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकक्षेत्रमा यार्सा सङ्कलन र बिक्री गर्ने अनुमति दिएको छ । यहाँका सबैजसो स्थानीय र व्यवासायी यार्साकै लागि लेकमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल नभएको अध्यागमन कार्यालय कोदारीका सूचना अधिकारी दिनेश बराईले बताए ।
वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सा सङ्कलनका लागि सीमाक्षेत्रबाट मात्रै झण्डै सात सय जना त्यसतर्फ प्रस्थान गरेको प्रारम्भिक अनुमान गरिएको छ । विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी झण्डै तीन हजारभन्दा बढी यार्सा सङ्कलक लेकक्षेत्र पुग्ने गर्थे ।
चीनको भू–भागमा पर्ने गौरीशङ्कर हिमशृङ्खला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्सा सङ्कलन गर्न जाने गरेका थिए । यसअघि नेपाली यार्सा सङ्कलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पूरै बन्देज थियो । अहिले सर्वसाधरणकै अनुमति पत्रलाई आधार मानेर यार्सा टिप्न दिएयता उत्साहित यहाँका यार्सा सङ्कलक गाउँ रित्ताएर लेकमा पुगेका हुन् ।