काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले बिहीबार यहाँ आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’कार्यक्रममा नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् ।
“वैदेशिक रोजगारमा गएका श्रमिकले दुःख गरेर पठाएको रकमबाट नेपालको अर्थतन्त्र चलेको छ, मुलुकको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारमा गएका नेपालीको श्रम बनेको छ”, उनले भने ।
प्रत्येक वर्ष झण्डै पाँच लाख नेपालीलाई रोजगारी आवश्यक परे पनि देशले रोजगार दिन नसकेका कारण विदेशिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको महामन्त्री थापाले उल्लेख गरे । आगामी एक दशक नेपालका लागि वैदेशिक रोजगार यथार्थ भएको उनको भनाइ थियो ।
महामन्त्री थापाले २०४६ सालको परिवर्तनपछि तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारको पालामा निजी क्षेत्रबाट धेरै उद्योगधन्दा सञ्चालन भए पनि दशवर्षे जनयुद्ध र देशको राजनीतिक अस्थिरताका कारण बन्द भएको जिकिर गरे ।
नेपाली कांग्रेसको सङ्गठन विस्तारमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको ठूलो भूमिका रहने महामन्त्री थापाले बताए । पार्टीले वैदेशिक रोजगारीको क्षेत्रमा नीति बनाउँदै गर्दा एशोसिएसनले महत्त्वपूर्ण राय, सल्लाह सुझाव दिने महामन्त्री थापाले अपेक्षा गरे ।
वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, पारदर्शी, मान र सम्मानका साथ सञ्चालनमा लाग्न उनले व्यवसायीलाई आग्रहसमेत गरे । उनले वैदेशिक रोजगार व्यवसायका सम्बन्धमा देखिएका समस्या समाधान गर्नका लागि पार्टी लाग्ने विश्वास व्यक्त गरे ।
वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्ने गरी सरकारले नीति बनाउनुपर्ने तमु सङ्घ नेपालका अध्यक्ष भुवनसिंह गुरुङले बताए । उनले सबै व्यवसायीलाई समेटेर अगाडि बढ्न एशोसिएसनलाई आग्रह गरे ।
एशोसिएसनका नवनिर्वाचित अध्यक्ष दीपक थापाले वैदेशिक रोजगार व्यवसायमा संलग्न व्यवसायी र वैदेशिक रोजगारमा गएका श्रमिकको समस्या समाधानका निम्ति आफ्नो कार्यसमितिले काम गर्ने बताए ।
एशोसियशनका प्रथम उपाध्यक्ष विनोदजङ्ग केसीले वैदेशिक रोजगार व्यवसायीका लागि राख्ने बैंक ग्यारेन्टी ज्यादै महँगो भएको भन्दै यसलाई पुनरावलोकन गर्नका लागि सरकार लाग्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइली, कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तार, कांग्रेस केन्द्रीय सदस्य गुरु बराल, विभागका सदस्य राजेन्द्र अधिकारीलगायतको सहभागिता रहेको थियो ।