काठमाडौं । नेपाल उद्योग परिसंघले स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा नेपाल विद्युत् प्राधिकरण रहेको आरोप लगाएको छ । नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत राख्दै प्राधिकरणले विद्युत् निर्यात गरेको परिसंघको आरोप छ । परिसंघले एक विज्ञप्ति जारी गरी स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउने ध्याउन्नतर्फ नलाग्न प्राधिकरणलाई आग्रह समेत गरेको छ । उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघले माग गरेको छ । ‘विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक चार सय मेगावाट विद्युत् निर्यात गरेको समाचार सञ्चार माध्यमहरूमा प्रकाशित भएका छन्’, परिसंघले भनेको छ, ‘सरकारले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूलाई मारेर कसरी विद्युत् निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौँ ।’
‘हामीले विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौँ । तर प्राधिकरणले विद्युत् आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत् आयात नै गरेन’, परिसंघले भनेको छ, ‘जसको मारमा उद्योगहरू विगत तीन महिनाअघिदेखि पर्दै आएका छन् । अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ ।’ प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।