काठमाडौं । पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रालि नयाँबजार काठमाडौं र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्द र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । उक्त सहमतिपत्रमा उल्लेख भएबमोजिम नेपाल एसबीआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड लेखनाथमार्ग ठमेल, काठमाडौंमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरूले दन्त परीक्षण निःशुल्क, दाँत सफा गर्दा २० प्रतिशत, दाँत निकाल्ने र दाँत भर्दा १५ प्रतिशत तथा दाँतसम्बन्धी अन्य सेवामा पाँच प्रतिशत तथा जनरल अस्पताल, नयाँबजारले सञ्चालन गर्ने सेवाहरूमा परीक्षण निःशुल्क पाइनुका साथै, बेड चार्जमा १५ प्रतिशत तथा ल्याब, भिडियो एक्सरे, ईसीजी र ओटीमा क्रमशः १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, नयाँबजार काठमाडौं सन् १९९७ मा स्थापना भई हालसम्म अनवरतरूपमा सञ्चालित त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त नेपालकै प्रथम डेन्टल कलेज एन्ड हस्पिटल हो, जसले डेन्टल कलेज तथा जनरल अस्पताल सञ्चालन गरी विभिन्न स्वास्थ्य सम्बन्धी सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । सम्झौता कार्यक्रममा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो भने पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले पनि आपसी सहकार्यबाट व्यावसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुई वटै संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।