खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा २०८० साल चैत ७ गते दुबईमा सडक दुर्घटनामा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ ।
मृतकका नौ वर्षीय दिशन र छ महिनाका इशान बुढाथोकी दुई छोराहरुको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्नेगरी तीन–तीन लाख तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद ५०–५० हजार उपलब्ध गराइएको जनाइएको छ ।
सांसद रामकुमार राई ‘पासाङ’ले धितुङका स्थानीय बासिन्दा एवं नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश–विदेशमा रहेका नेपालीबाट सङ्कलित रकम सोमबार मृतकका परिवारलाई हस्तान्तरण गरेका हुन् ।