काठमाडौं । लायन्स क्लबको सहयोगमा ललितपुरमा निःशुल्क बाथरोग शिविर सञ्चालन गरिएको छ । लायन्स क्लब अफ अटो सोसियल फ्रेन्ड्स, नेसनल बाथरोग सेन्टर रातोपुल, ऊर्जा बचत तथा ऋण सहकारी संस्था, सहयोगी महिला जागरण मञ्च, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टरको संयुक्त आयोजनामा सो शिविरको आयोजना गरिएको हो ।
ललितपुर, टंगल टोलस्थित ऊर्जा बचतकै प्राङ्गणमा भएको निःशुल्क बाथरोग शिविरमा एक सय ४५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । वरिष्ठ बाथरोग विशेषज्ञ डा श्वेता नकर्मीले स्वास्थ्य जाँच गरेकी थिइन् । यस्तै, बाथरोग सेन्टरले औषधी वितरण र निःशुल्क रगत परीक्षण गरेको थियो । रगत परीक्षण गरिएकाहरूको शनिवार सोही स्थानमा बाथरोग विशेषज्ञद्वारा स्वास्थ्य जाँच, आवश्यक परामर्श प्रदान गरी औषधी समेत वितरण गरिएको मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् । पहिलो पटक आयोजना गरेको निःशुल्क बाथरोग शिविर निकै सफल भएको लायन्स क्लब डिस्ट्रिक जेको रिजन चियरपर्सन रोशनकुमार श्रेष्ठले बताए । आगामी दिनमा पनि शिविर सञ्चालन गर्ने उनले बताए ।