नयनँदिल्ली । भारतीय केन्द्रीय बैंक (आरबीआई)ले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकोे भन्दै आरबीआईले शुक्रबार ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । आरबीआईले लगातार आठौँ पटकसम्म ब्याजदर यथावत् राखेको छ ।
भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले आफ्नो महत्वपूर्ण रिपो रेट छ दशमलव पाँच प्रतिशतमा स्थिर रहने बताएको छ । युरोपेली केन्द्रीय बैंकसहित दुई प्रमुख केन्द्रीय बैंकले सन् २०१९ पछि पहिलो पटक ब्याजदर कटौती गरेका छन् ।
भारतमा मुद्रास्फीति सन् २०२२ को सात दशमलव आठ प्रतिशतको उच्च बिन्दुबाट खुम्चिएको छ तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ ।
भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले विशेषगरी खाद्यवस्तुको मूल्यवृद्धिका कारण हुने कुनै पनि जोखिमप्रति बैंक सचेत रहेको बताएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा चुनावमा पूर्ण बहुमत हासिल नगरेपछि सरकार सञ्चालनका लागि गठबन्धन साझेदारहरूमा निर्भर हुन बाध्य भएको केही दिनपछि यो निर्णय आएको हो ।
विज्ञहरूका अनुसार यसले मोदीको अर्को प्रशासनलाई आफ्नो समर्थन आधार बढाउन र सहयोगीहरूलाई शान्त पार्न पपुलिस्ट खर्चको सहारा लिन बाध्य पार्न सक्छ ।