काठमाडौं । बैंकिङ प्रणालीमा एक दिनमा १६ अर्ब निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ २७ गते ६२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २८ गते घटेर ६२ खर्ब ३१ अर्ब रुपैयाँमा झरेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ५५ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा सात खर्ब १६ अर्ब रुपैयाँ निक्षेप छ ।
बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा ५१ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूले ४५ खर्ब ४२ अर्ब रुपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले पाँच खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकिङ प्रणालीमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव दुई प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था छ । यसआधारमा बैंक तथा वित्तीय संस्थासँग अहिले चार खर्ब ७५ अर्ब रुपैयाँ थप ऋण प्रवाह गर्नसक्ने क्षमता छ ।
बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबारको ब्याजदर दुई दशमलव ९५ प्रतिशत कायम छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम भने सात दशमलव आठ प्रतिशत अर्थात् चार खर्ब ४३ अर्ब आठ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात दशमलव तीन प्रतिशत अर्थात् तीन खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव आठ प्रतिशतले बढेको छ । २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच प्रतिशत, २९ दशमलव एक प्रतिशत र ५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, २५ दशमलव आठ प्रतिशत र ५९ दशमलव नौ प्रतिशत थियो ।
कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव सात प्रतिशत छ । २०८० वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव तीन प्रतिशत थियो । चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव सात प्रतिशत अर्थात् दुई खर्ब २५ अर्ब २४ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तीन दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब ५३ अर्ब १७ करोड रुपैयाँले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पाँच दशमलव दुई प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव सात प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव तीन प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव नौ प्रतिशत र ३६ दशमलव एक प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षको १० महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह चार दशमलव सात प्रतिशतले, विकास बैंकहरुको तीन दशमलव नौ प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह छ दशमलव तीन प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
तरलता व्यवस्थापनका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट जेठ ३२ गते (आज) शुक्रबार ३० अर्ब रुपैयाँ तान्ने भएको छ । आज अपराह्न १२ बजेसम्म बोलकबोलको माध्यमद्वारा निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
परिपक्व हुने अवधि १४ दिन तोकिएको उक्त उपकरणको सावाँब्याज भुक्तानी असार १४ गते हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्नसक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्न सकिने जानकारी राष्ट्र बैंकले दिएको छ ।