दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले गाउँघरमा खानेपानी विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । पालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको हो ।
पालिकाका ७५ प्रतिशत बस्तीमा खानेपानी पहुँच पुगेको गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । बाँकी २५ प्रतिशत जनतालाई पनि स्वच्छ पानी पु¥याउने कार्य भइरहेको उनले जानकारी दिए । गाउँपालिकाले चालू वर्षमा पालिकाभित्र सानाठूला गरी खानेपानीका ५० वटा योजना वितरण गरेको थियो । सोमध्ये ३० वटा खानेपानी ट्याङ्की, २९ वटा इन्टेक, ५७ दशमलव १५ किलोमिटर खानेपानी पाइपलाइन विस्तार तथा दुई सय ९६ वटा धारा निर्माण कार्य सम्पन्न गरिसकेको गाउँपालिकाकाले जनाएको छ ।
स्वच्छ खानेपानी वितरणको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ३८ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । पालिकाको मुख्य प्राथमिकतामा सडक योजना राखेको छ भने दोस्रोमा खानेपानी विस्तारलाई राखेर काम गरिरहेको छ । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा पनि खानेपानीलाई उच्च प्राथमिकतामा राख्ने गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताइन् । केही वर्ष अघिसम्म खानेपानीको समस्या लिएर सदरमुकाम पुग्ने स्थानीय अहिले घरमै धारासहितको स्वच्छ पानी आएपछि दङ्ग छन् ।