नयाँदिल्ली । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्यांकरबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो ।
गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्यांकरवरिपरि घुमिरहेका थिए । बढ्दो तापक्रमको बीचमा, यी दृश्यहरू यो वर्षको गर्मी मौसम सुरु भएदेखि नै राजधानी क्षेत्रमा दैनिक घटना बनेका छन् ।
पानी सङ्कटमा राजनीतिक खिचातानीबीचमा, दिल्लीकी जलमन्त्री आतिशी शुक्रबार हरियाणा सरकारले दिल्लीको पानी नछोडेको आरोप लगाउँदै अनिश्चितकालीन भोक हड्तालमा बसेका छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले न्यायिक हिरासतमा रहेका मुख्यमन्त्रीको सन्देश पढ्दै दिल्लीका जनता पानीको अभावबाट पीडित भएको देखेर अरविन्द केजरीवाल दुःखी भएको बताएकी छन् । केजरीवालले टीभीमा दिल्लीका मानिसहरू पानीको अभावका कारण पीडाको सामना गर्न बाध्य भएको देखेर आफूलाई दुःख लागेको भावना सम्प्रेषण गरिदिन आग्रह गरेको उनले बताइन् ।
केजरीवालले आतिशीको ‘तपस्या’ सफल हुने र दिल्लीवासीले पानीको समस्याबाट राहत पाउने आशासहित अतिशीलाई शुभकामना दिएका छन् । यद्यपि भारतीय जनता पार्टीले भने पानी सङ्कटलाई लिएर दिल्ली सरकारलाई आक्रमण जारी राखेको छ ।
भाजपाका सांसद बांसुरी स्वराजले आप सरकारले ‘भ्रष्टाचारलाई प्रोत्साहित गर्न’ संकटलाई ‘योजनाबद्ध’ गरेको आरोप लगाएकी छन् । पानीको संकट, प्राकृतिक सङ्कट नभई, केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहन गर्दै अवैध ट्यांकर माफियालाई प्रोत्साहन गर्ने योजना बनाएको बांसुरी स्वराजले उल्लेख गरेकी छन् ।
उनले सहर सुक्खा भई दिल्ली असहज अवस्थामा हुँदा केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टामा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अनसनको धम्की दिइरहेको बताइन् । रासस/एएनआई