नयाँदिल्ली । भारतमा रुसबाट हुने तेल आयात बढेको छ । मे महिनामा रुसबाट तेल आयात रेकर्ड विन्दुमा पुगेको छ । भारतेले मे महिनामा रुसबाट दैनिक २१ लाख ब्यारेल तेल आयात गरेको छ ।
रुसी तेलमा छुट बढ्दै गएपछि भारतले आयात बढाएको बताइएको छ । भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता हो । भारतले आयात गर्ने तेलमा मे महिनामा रुसको हिस्सा झण्डै ४१ प्रतिशत पुगेको छ ।
रुसको तेल आयात बढ्दा साउदी अरेबियाबाट हुने आयात भने घटेको छ । साउदी अरेबियाले तेलको मूल्य बढाएपछि भारतले १० महिनायताकै न्यून आयात गरेको छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि युरोपेली मुलुकहरुले रुसी तेल खरिद गर्न अस्वीकार गरेका थिए । तर, भारतले भने रुसबाट तेल आयात बढाएको छ । मध्यपूर्वका मुलुकहरुले दिने तेलको मूल्यभन्दा रुसी तेलको मूल्य तुलनात्मक रुसमा सस्तो परेपछि भारतले रुसबाट तेल आयात बढाएको हो ।