काठमाडौं स्वामी कृष्णदासले बालाजुस्थित म्हेपीमा रहेको गुरु नानक मठ आफ्नो कब्जामा लिने सम्पूर्ण तयारी गरेका छन् । पाँच सय वर्षअगाडि गुरु नानकले यो स्थानमा साधना गरेका कारण सिख धर्मावलम्बीहरूले उक्त मठलाई अत्यन्तै पवित्र मान्ने गर्दछन् । सयौँ वर्षदेखि मठ निर्माण गरेर देशीविदेशी सिख धर्मावलम्बीहरूले त्यहाँ आफ्ना धार्मिक कार्यहरू गर्दै आएका छन् ।
गुरु नानक सत्संग समितिले २०७२ को भूकम्पपछि कृष्णदासलाई उक्त मठ परिसरमा अस्थायीरूपमा बस्न दिएको थियो । तर, अहिले कृष्णदासलले काठमाडौं महानगरपालिका १६ मा रहेको उक्त नानक मठ र त्यहाँ रहेको ३२ रोपनी जग्गा नै कब्जा गर्ने रणनीति बनाएको सत्संग समितिले आरोप लगाएको छ । यो कार्यमा उनलाई नेपालका पूर्वप्रशासक र सुरक्षा निकायका उच्चपदस्थ पूर्वकर्मचारीहरूले साथ दिएका छन् । सो मठ विश्वका सिखहरूका लागि अत्यन्तै श्रद्धाको मठ रहेको र यसलाई तलमाथि गर्न खोजिएमा साम्रो नहुने समितिका अध्यक्ष प्रितम सिंहले बताए । उनले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुको साटो सिख समुदायबाट खोस्न खोजेर कृष्णदासलगायत केही उच्चपदस्थ व्यक्तिहरूले सिख धर्मावलम्बीहरूको अपमान गरेको बताएका छन् ।
गुठीको स्वामित्वमा रहेको यो जग्गामा ईपू १५१५ मा जगतजंग मल्लले गुरु नानक मठ स्थापना गराएका थिए । उनले गुरु नानकका लागि उक्त क्षेत्रमा एक हजार छ सय रोपनी जग्गा उपलब्ध गराएका थिए । तर, अहिले भने सबै मिचेर ३२ रोपनीमात्र बाँकी रहेको समितिका उपाध्यक्ष रवि सिंहले बताए । कृष्णदासलाई समाएर जग्गा दलालहरूले यो ३२ रोपनी जग्गा कब्जा गर्न खोजेको सिंहले आरोप लगाएका छन् । हरपाल सिंहले उक्त नानक मठको संरक्षणका लागि सिख समुदायले आन्दोलनको तयारी गरेको बताए । उनले भने, ‘यो धार्मिक अतिक्रमण हो । सिखहरूका लागि नेपाल पवित्र भूमि हो भन्ने जान्दाजान्दै कृष्णदासले राजनीतिक शक्तिका आडमा सार्वजनिक जग्गा हड्प्न खोजेका छन् । यो राम्रो होइन ।’
उक्त मठमा हिन्दु र सिखको पूजाआजा हुनेभएका कारण यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न समिति तयार रहेका बेला आश्रय लिने बहानामा कृष्णदासले पूरै जग्गा कब्जा गर्ने रणनीति बनाएकोमा सिख समुदाय चिन्तित रहेको समितिका अध्यक्ष प्रितम सिंहले बताए ।कृणदासले सजिलैसँग उक्त क्षेत्र नछोड्ने हो, भने सिख धर्मालम्बीहरू सडकमा उत्रनुको विकल्प नरहेको समितिका उपाध्यक्ष रवि सिंहले चेतावनी दिएका छन् ।