काठमाडौं । नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर हदसम्म विवाद प्रतिनिधिसभामा प्रवेश गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर विवादमा रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् ।
रथी सिग्देलको उमेर विवादको विषय आर्थिक दैनिक पत्रिकाले विभिन्न समयमा समाचारहरु सार्वजनिक गरेको थियो । शुक्रबारको अङ्कमा पनि आर्थिक दैनिकले ‘अवकाश पाइसकेको हुनुपर्ने सिग्देल प्रधानसेनापतिको उम्मेदवार ?’ भन्ने शीर्षकमा समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेको थियो । सोही विषयमा शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आजपका अध्यक्ष साहले नेपाली सेनाको आगामी नेतृत्वको रुपमा लिइएका रथी सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा प्रधानसेनापतिको जवाफ माग गरेका हुन् । नेपाली सेनाको छवि निस्कलङ्कित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथीको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्याएको साहको भनाइ थियो ।
‘रथिमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न मिल्दैन’, उनले भने, ‘यसरी विवादित कुराहरु बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौँ । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि प्रश्न उठिराख्दा तपाईँ चुप लाग्न मिल्दैन’, आजपका अध्यक्ष साहले भने ।
सिग्देल गतवर्षको मंसिरमा रथीमा बढुवा भएका हुन् । उनीअघि रथीमा बढुवा हुन लागेका ताराध्वज पाण्डे नागरिकता किर्तेको विवादमा मुछिएपछि राजीनामा दिएका थिए । त्यसपछि रथीमा बढुवा भएका सिग्देलको पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्ममिति भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
उनको जन्म २०२१ मा भए पनि २०२३ साल बनाइएको आरोप थियो । अख्तियारले आफ्नो क्षेत्राधिकार नभएको भन्दै रक्षा मन्त्रालयलाई छानबिन गर्न पत्र पठाएको थियो । मन्त्रालयको छानबिनमा भने उमेर विवाद नरहेको निष्कर्ष निकालिएको थियो । सिग्देल २०४३ फागुन ३ मा नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ मा नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएको विभिन्न प्रमाणपत्रहरुबाट खुलेको छ ।