नैरोबी । कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ ।
केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर)ले सोमबार मृतकको संख्या घोषणा गरेको हो । केएनसीएचआर रेकर्डले ‘देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा’ ३९ जनाको मृत्यु र तीन सय ६१ जना घाइते भएको सङ्केत गरेको छ । यो तथ्याङ्कले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्तिले जनाएको छ ।
अधिकांश युवा प्रदर्शनकारीको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी ¥याली गतहप्ता संसद्ले विवादास्पद कानुन पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो ।
राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मत्युबारे अनुसन्धान गर्ने बाचा गरे ।
‘केएनसीएचआरले प्रदर्शनकारी, चिकित्सा कर्मी, वकिल, पत्रकारको चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्सजस्ता सुरक्षित स्थानमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ’, आयोगले जनाएको छ ।
‘प्रदर्शनकारीविरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको थियो भन्ने हाम्रो धारणा छ’, आयोगले बताएको छ । रासस/एएनआई