काठमाडौँ । वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ध्यानाकर्षण गरेको छ ।
एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको एमाले महासचिव शङ्कर पोखरेलद्वारा बिहीबार जारीे प्रेस विज्ञप्तिमा जनाएको हो ।
एमाले र नेपाली कांग्रेस संसद्का दुई ठूला दलबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न यही असार १७ गते समझदारी भई असार १९ गते एमालेले वर्तमान सरकारको समर्थन फिर्ता लिएको थियो ।
अहिलेको परिस्थितिमा वर्तमान सरकारले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न एमालेले पुन: अनुरोध गरेको छ ।