आर्थिक क्रियाकलापमा आएको मन्दी, चर्को ब्याजदर, महँगीलगायतका कारण दुई वर्षयता बजारमा कर्जाको माग न्यून छ । दुई वर्षअघि तरलता अभावले कर्जा दिन नपाइरहेका बैंकहरूले अहिले अधिक तरलताको सामना गरिरहेका छन् । केन्द्रीय बैंकले अर्बौँरुपैयाँ प्रशोचन गरेर तरलता व्यवस्थापन गरिरहेको छ । तर, बजारमा कर्जाको माग न्यून छ ।राष्ट्र बैंकको तथ्याङ्कअनुसार अहिले बैंकिङ प्रणालीमा निक्षेप बढ्दो क्रममा छ । पछिल्लो १५ दिनमा करिब एक खर्ब रुपैयाँ तरलता बढेको देखिन्छ । यो अवधिमा कर्जा प्रवाह १५÷१६ अर्ब रुपैयाँ मात्रै बढेको छ ।
ब्याजदर घटेपनि उपभोग न्यून भएका कारण उत्पादन बढ्न सकेको छैन । बजारमा वस्तुको माग कम हुँदा उद्योगीहरूले ऋण लिएर उत्पादन बढाउन सकिरहेका छैनन् । यहीकारण कर्जाको माग न्यून रहेको अर्थशास्त्रीहरू बताउँछन् ।समग्र कर्जाको माग सुस्त देखिँदा सेयर धितोमा प्रवाह भएको कर्जा केही बढेको छ । राष्ट्र बैंकले त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जामा केही खुकुलो नीति लिएपछि सेयर धितो राखेर कर्जा माग गर्ने लगानीकर्ता बढेको देखिन्छ । तर, अर्थतन्त्रमा अझै स्थिरता नदेखिएकाले बैंकहरूले ढुक्कका साथ कर्जा प्रवाह गर्न सकेका छैनन् ।
बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा प्रवाह बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको १० महिना (वैशाख मसान्त)सम्मबैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ९५ अर्ब ९५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब एक करोड ८० लाख रुपैयाँ बढी हो । गतवर्ष वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर धितो कर्जा ७४ अर्ब ९३ करोड ५० लाख रुपैयाँथियो ।
वाणिज्य बैंकहरूले गत वैशाखसम्म सेयर धितोमा प्रवाह गरेको कर्जा ६७ अर्ब ३४ करोड ६० लाख रुपैयाँछ । यो कर्जा एक वर्षअघिको तुलनामा नौ अर्ब ५३ करोड २० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले प्रवाह गरेको यस्तो कर्जा ५७ अर्ब ८१ करोड ४० लाख रुपैयाँथियो ।विकास बैंकहरूले गत वैशाखसम्म १४ अर्ब ७५ करोड ६० लाखरुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा एक अर्ब ३६ करोड ६० लाख रुपैयाँले बढी हो । गतवर्ष वैशाख मसान्तमा विकास बैंकहरूले प्रवाह गरेको सेयर धितो कर्जा १३ अर्ब ३९ करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले सेयर धितोमा तीन अर्ब ८५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले सेयर धितो शीर्षकमा कुल तीन अर्ब ७३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।