बुटवल । ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा पुरानै सञ्चालक निर्वाचित भएका छन् ।
बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारणसभाले संस्थापक अध्यक्ष पोखरेल नेतृत्वको सञ्चालक समितिमा संस्थापक सदस्यहरू दिपक बोहरा, रचितकुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई चार वर्षका लागि निर्वाचित गरेको हो ।
अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त महासंघ नेपाल, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनीलगायतको पनि संस्थापक तथा बहालवाला अध्यक्ष हुनुहुन्छ भने आरम्भ चौतारी माईक्रो फाइनान्सको संस्थापक अध्यक्ष र लुम्बिनी मेडिकल कलेजको संस्थापक छन् ।
माइक्रो इस्स्योरेन्सको साधारणसभाले आगामी आर्थिक वर्षमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीका उप कार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठले जानकारी दिए ।
बुटवलमा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशका ग्रामीण भेगका सर्वसाधारणलाई बीमाको पँहुचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा सुरु गर्ने निर्णय पनि गरेको छ ।
घुम्ती बीमा सेवाका लागि नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापा, कम्पनीका अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गानाले संयुक्तरूपमा मोबाइल भ्यानको समेत उद्घाटन गरेका थिए ।
मोबाइल भ्यानमार्फत सर्वसाधारणलाई उनीहरूकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रक्रियाको बारेमा सचेतनासहितको सेवा कम्पनीले दिने सीईओ ढुंगानाले बताए ।
गत चैत्र ९ गतेदेखि औपचारिकरूपमा बुटवलबाट सेवा सुरु गरेको ट्रस्ट माइक्रो इन्स्योरेन्सले देशभरका झण्डै एक दर्जन शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।
सेवा शुभारम्भ गरेको छोटो समयमै राम्रो कारोाबार गर्न सफल यस माइक्रो इन्स्योरेन्सले सात लाखसम्मको सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमा, ५० लाख रुपैयाँसम्मको घर, सम्पत्ति र सवारी साधन बीमा सेवा दिने गरेको छ ।