काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघले अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाट गर्ने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो । सोमबार बसेको महासंघको कार्यसमितिको बैठकले सर्वसम्मतरुपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रस्तावमा कार्यसमिति बैठकले आगामी मंसिरमा हुने साधारणसभामा प्रत्यक्ष निर्वाचित अध्यक्षको प्रस्ताव लैजाने निर्णय गरेको हो । महासंघको विधान कार्यसमिति बैठकले सर्वसहमतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष निर्वाचनबाट चयन हुने निर्णय गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।
यसअघि पनि यसैबमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भए पनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले बताए । अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर आफूले गएको निर्वाचनकै बेला विधान संशोधनको बाचा गरेको र अहिले आफ्नो प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत पारित गरेको बताए । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ । संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मंसिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने महासंघले जनाएको छ ।