नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन सत्ता गठबन्धन नेपाली कांग्रेस र एमालेले मन्त्रालयको भागबण्डा पनि टुङ्गोमा पु¥याएका छन् । प्रधानमन्त्रीका रूपमा ओलीले शपथ दिएकै दिन सोमबार मन्त्रालय विस्तार हुनेछ । प्रधानमन्त्रीका रूपमा ओलीले सोमबार बिहान ११ बजे शपथ लिने कार्यक्रम छ । स्रोतका अनुसार एमाले र कांग्रेसको जिम्मामा रहेका सबै मन्त्रालयमा सोमबार नै मन्त्रीहरू नियुक्त हुनेछन् । एमालेको भागमा प्रधानमन्त्रीसहित अर्थ र भौतिकलगायतका अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयहरू परेका छन् । एमालेले अर्थको साथै भौतिक पूर्वाधार तथा यातायात र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी लिएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा भौतिक मन्त्रालयमातहतका सडक कार्यालयहरूले निर्माण व्यवसायीलाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
चालू आवमा उक्त रकम भुक्तानी भएको थियो भने बजारमा पैसा गएर अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्नेथियो । तर, अर्थ मन्त्रालयका अधिकारीहरूको लापरबाहीको कारण कतिपय निर्णय भएका फाइलहरू पनि एलएमबीआईएसमा प्रविष्टि हुन पाएको छैन । प्रधानमन्त्री पाएको एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । यी मन्त्रालयहरूले राम्रोसँग काम गर्ने हो भने अर्थतन्त्र सुधार गर्न सहयोग गर्नेछ । नेपाली कांग्रेसले भने गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कानुन तथा संसदीय मामला रहेको छ । बाँकी मन्त्रालय सरकारमा आउने दलहरूलाई राखिएको स्रोतको दाबी छ ।
कांग्रेस र एमालेले समान आठ÷आठवटा मन्त्रालय पाएका छन् । बाँकी मन्त्रालयहरू भने सरकारमा सहभागीहरूलाई अन्य दललाई दिने योजना कांग्रेस र एमालेका शीर्ष नेतहरूले बनाएका छन् । ओली आफ्नो राजनीतिक जीवनमा चौथो पटक प्रधानमन्त्री बनेका हुन् । यसअघि ओली पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त भएर २०७३ साउन १९ गतेसम्म बहाल रहेका थिए । दोस्रो पटक २०७४ साल फागुन ३ गतेदेखि २०७८ वैशाख ३० गतेसम्म प्रधानमन्त्री थिए भने तेस्रो पटक २०७८ वैशाख ३० गतेदेखि २०७८ असार २९ गतेसम्म प्रधानमन्त्री भएका थिए । २०७८ असार २९ गते उनी संसद्बाट नभई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदबाट हटेका थिए । एमालेले अर्थ मन्त्रालय लिने पक्का भएपछि आइतबार सेयरबजारमा ठूलो कारोबार भएको छ भने कारोबार रकममा पनि अत्यधिक वृद्धि भएको छ ।