नयाँदिल्ली । भारतीय सेयरबजारले फेरि नयाँ अलटाइम हाई विन्दुमा रेकर्ड बनाएको छ । भारतका प्रमुख सेयरबाजर सूचकहरू बिहीबार ‘सेन्सेक्स’ र ‘निफ्टी ५०’ बढेर नयाँ उचाइमा पुगेका हुन् ।
सेन्सेक्स छ सय २६ अङ्क बढेर ८१ हजार तीन सय ४३ विन्दुमा पुगेको छ । इन्ट्राडे कारोबारमा ८१ हजार पाँच सय २२ अङ्कसम्म पुगेको थियो । यस्तै निफ्टी ५० पनि एक सय ८७ अङ्कले बढेर २४ हजार आठ सय विन्दुमा पुगेको छ । इन्ट्राडे कारोबारमा निफ्टी २४ हजार आठ सय २९ विन्दुसम्म पुगेको थियो ।
सेन्सेक्सका ३० वटा स्टक समूहमध्ये २२ वटा बढेका छन् भने आठवटा घटेका छन् । आईटी समूह सबैभन्दा धेरै दुई दशमलव २२ प्रतिशत बढेको छ । मिडिया क्षेत्रमा भने सबैभन्दा बढी तीन दशमलव ५७ प्रतिशतले गिरावट आएको छ ।
भारतीय सेयरबजारले दैनिकजसो नयाँ अलटाइम हाई बनाइरहेको छ । अमेरिकामा फेडरल रिजर्भले ब्याजदर घटाउन सक्ने सम्भावना बढ्दै गएपछि विदेशी लगानीकर्ताले भारतीय सेयरबजारमा पैसा लगानी गरिरहेका छन् । यसको असर माग पक्ष बलियो हुँदा सेयरबजार निरन्तर बढिरहेको विश्लेषण गरिएको छ ।
यस्तै, अमेरिकामा राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित हुने सम्भावना बढेको र ट्रम्प सुरुदेखि नै कमजोर डलरको पक्षमा रहेकाले लगानीकर्ताहरू डलरमा लगानी गर्न छाडेर सेयरबजार र सुनतर्फ आकर्षित भएका छन् । यसको फाइदा भारतीय सेयरबजारमा परेको छ । भारतीय सेयरबजारमा कमजोर डलरको कारण विदेशी लगानी वृिद्ध हुने अपेक्षाका कारण अहिले बजारमा सकारात्मक महोल बनेको विश्लेषण गरिएको छ ।