काठमाडौं । बैतडीका स्थानीय तहले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक र विशेष अनुदानअन्तर्गतका रकम शतप्रतिशत खर्च गर्न सकेनन् । यहाँका १० वटै स्थानीय तहबाट गत आर्थिक वर्ष २०८०/८१ मा खर्च हुन नसकेर २५ करोड २१ लाख ९४ हजार रुपैयाँ फिर्ता भएको छ ।
यहाँका स्थानीय तहहरूका लागि दुई अर्ब ८३ करोड ५३ लाख ५७ हजार रुपैयाँ बजेट प्राप्त भएको थियो । त्यसमध्ये दुई अर्ब ५८ करोड ३१ लाख ६३ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यलयका लेखापाल भवानी भट्टका अनुसार पाटन नगरपालिकामा ३८ करोड ६६ लाख ८२ हजार रुपैयाँ प्राप्त भएकोमा ३३ करोड ८८ लाख ९९ हजार रुपैयाँ खर्च भएको थियो । सो नगरपालिकाका लागि प्राप्तमध्ये चार करोड ७७ लाख ८३ हजार रुपैयाँ फिर्ता भएको हो । यस्तै, दोगडाकेदार गाउँपालिकामा ३० करोड २० लाख ८१ हजार रुपैयाँ प्राप्त गरेकोमा २६ करोड ६५ लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ । बाँकी तीन करोड ५४ लाख ९९ हजार रुपैयाँ फिर्ता भएको छ ।
दशरथचन्द नगरपालिकामा ४० करोड २४ लाख १८ हजार रुपैयाँ बजेट प्राप्त भएको थियो । सोमध्ये ३७ करोड २४ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ । दशरथचन्दबाट दुई करोड ९९ लाख २४ हजार रुपैयाँ खर्च हुन सकेन । यस्तै, पुर्चौंडी नगरपालिकामा ३८ करोड २९ लाख ३३ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा ३७ करोड ३९ लाख १८ हजार रुपैयाँ खर्च भई ९० लाख १५ हजार रुपैयाँ फिर्ता भएको छ । मेलौली नगरपालिकाले २७ करोड १२ लाख २५ हजार रुपैयाँ अनुदान प्राप्त गरेकोमा २४ करोड ३९ लाख ५४ हजार रुपैयाँ खर्च गरेको हो । दुई करोड ७२ लाख ७० हजार रुपैयाँ फिर्ता भएको हो ।
डिलाशैनी गाउँपालिकाबाट गत आवमा ६८ लाख ७२ हजार रुपैयाँ फिर्ता भएको छ । २४ करोड ५५ लाख ९९ हजार रुपैयाँ बजेटमध्ये २३ करोड ८७ लाख २६ हजार रुपैयाँ खर्च गरेको थियो । पञ्चेश्वर गाउँपालिकाबाट गत आवमा एक करोड ९८ लाख ५० हजार रुपैयाँ फिर्ता भएको छ । २० करोड २४ लाख ८८ हजार रुपैयाँ बजेटमध्ये १८ करोड २६ लाख ३७ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । शिवनाथ गाउँपालिकाबाट गत आवमा तीन करोड २९ लाख ३४ हजार रुपैयाँ फिर्ता भएको छ । शिवनाथमा १८ करोड ६२ लाख ३४ हजार रुपैयाँ बजेटमध्ये १५ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ ।
यसैगरी सिगास गाउँपालिकामा २१ करोड ६४ लाख ८३ हजार रुपैयाँ बजेट प्राप्त भएकोमध्ये २० करोड नौ लाख ७७ हजार रुपैयाँ खर्च भएको छ । सिगासबाट खर्च हुन नसकेर एक करोड ५५ लाख छ हजार रुपैयाँ फिर्ता भएको छ । सुर्नया गाउँपालिकाले दुई करोड ७५ लाख ३६ हजार रुपैयाँ फिर्ता गरेको छ । सुर्नयाले २३ करोड ९२ लाख १० हजार रुपैयाँ प्राप्त गरेकोमा २१ करोड १६ लाख ७३ हजार रुपैयाँ मात्र खर्च गरेको थियो । सशर्त, समपूरक र विशेष अनुदानअन्तर्गत प्राप्त हुने बजेट सर्तसहित आउने भएकोले सबै रकम खर्च हुन नसकेको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए । उनले भने, ‘शीर्षक छुट्याएर बजेट दिएको हुन्छ । सोही शीर्षकमा मात्रै खर्च गर्नुपर्ने हुन्छ ।’ ठेक्का प्रक्रियाबाट योजना निर्माण गर्दा घटाघटीमा ठेक्का गर्नुपर्ने र निर्धारित बजेट बाँकी रहने भएकाले त्यस्तो बचेको बजेट फेरि खर्च गर्न नमिल्ने हुँदा फिर्ता जाने गरेको उनको भनाइ छ ।