वासिङ्टन । अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट बाइडेन फिर्ता भएको २४ घण्टा नबित्दै कमला ह्यारिसले डेमोक्रेटिक पार्टीबाट उम्मेदवारीका लागि बहुमत हासिल गरेकी छन् । न्यूयोर्क टाइम्सका अनुसार कमला ह्यारिसले राष्ट्रपतिको उम्मेदवारीका लागि हालसम्म चार हजारमध्ये एक हजार नौ सय ७६ प्रतिनिधिको समर्थन प्राप्त गरिसकेका छन् ।
अगस्ट १ देखि ७ सम्म, डेमोक्रयाटहरूले मनोनयनका लागि पहिलो चरणको मतदान गर्नेछन् । कमला ह्यारिसले राष्ट्रपति जो बाइडेन २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पहिलो पटक जनतालाई सम्बोधन गरेकी थिइन् ।
पार्टीभित्र बहुमत प्राप्त गरेपछि उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको कामको प्रशंसा गरिन् । उनले राष्ट्रपति बाइडेनले चार वर्षमा यति धेरै काम गरेका छन् जुन धेरै राष्ट्रपतिले दुई कार्यकालमा पूरा गर्न नसकेको बताइन् ।
कमला ह्यारिस पेरिस ओलम्पिक अघि ह्वाइट हाउसमा अमेरिकी खेलाडीहरूको अभिनन्दन समारोहमा पुगेकी थिइन् । कोभिड पोजिटिभ भएका कारण बाइडेन कार्यक्रममा उपस्थित थिएनन् ।