लाओस । भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच लाओसमा महत्वपूर्ण भेटवार्ता भएको छ । भेटवार्तामा भारत–चीन सीमा विवादबारे छलफल भएको बताइएको छ ।
जयशंकरले चिनियाँ विदेशमन्त्रीलाई एलएसी र यसअघि भएका सम्भौताहरुको सम्मान गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जयशंकरले सम्बन्धलाई स्थिर बनाउन दुवै देशको हितमा रहेको बताएका छन् । जयशंकरले सीमामा विवाद भए पनि दुई देशबीचको सम्बन्ध विग्रन नहुने बताए ।
यी दुई नेता पछिल्लो एक महिनामा दोस्रो पटक भेटघाट गरेका हुन् । भेटवार्तामा दुवै देशका विदेशमन्त्रीले सीमामा सेनाको संख्या घटाउने सम्बन्धमा सहमत भएको बताइएको छ ।
जयशंकर र वाङ यीले यस महिनाको सुरुमा कजाकिस्तानको राजधानी अस्तानामा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको क्रममा पनि भेटेका थिए ।
भारत र चीनबीचको सम्बन्ध सन् २०२० को मेदेखि झनै बिग्रिएको छ । भारतले सीमामा शान्ति नभएसम्म चीनसँगको सम्बन्ध सामान्य हुन नसक्ने भन्दै आएको छ ।