पोखरा । गण्डकीमा करिब ४५ करोड रुपैयाँ बराबरको लागतमा प्रदेशसभा भवन बन्ने भएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ ।
डीपीआरअनुसार संसद् भवन बनाउन ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ लाग्नेछ । हाल पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रको भवनमा प्रदेशसभा सञ्चालन हुँदै आएको छ । नयाँ बन्ने भवनमा दोस्रो तलामा प्रदेशसभा बैठक हेर्न चाहने पत्रकार, राजनीतिकर्मी र सर्वसाधारणका लागि स्थान हुनेछ । सोही तलामा पत्रकार सम्मेलन, साना औपचारिक कार्यक्रम गर्न मिल्ने खालको सानो हल हुनेछ । भवनको भुईँतला एक हजार आठ सय ४६ वर्गमिटर, पहिलो तला एक हजार चार सय ९६ र दोस्रो तला सात सय ३९ वर्गमिटरका हुने बताइएको छ ।