मोरङ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा बिहीबार यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को दुईदिने वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी रहेको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले जनतालाई सेवा प्रवाहमार्फत प्रदेश संरचना आवश्यक भएको अनुभूति गराउन कर्मचारीहरुलाई निर्देशन दिए । उनले सङ्घ, प्रदेश र स्थानीय तह राष्ट्रका लागि भएकाले प्रदेशलाई स्थापित गराउन जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा बेरुजु घटाई सुशासन प्रत्याभूति गर्नुपर्ने बताउँदै बेरुजु फर्छ्यौट गर्नुपर्नेमा जोड दिए । सरकारले कृषिमा आधारित उद्योगसँग सहकार्य गरी उत्पादन वृद्धि गर्न किसानलाई उत्पादनको समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता औँल्याउदै मुख्यमन्त्री कार्कीले सरकारले कृषि उद्योगको स्थायित्व, उत्पादन वृद्धि र रोजगार प्रवर्द्धनका लागि ब्याजमा अनुदानको व्यवस्था गरिएको जानकारी दिए ।