पोखरा । डिभिजन वन कार्यालय गोरखाले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३७ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सबैभन्दा धेरै निजी वनको मूल्य अभिवृद्धि करअन्तर्गत एक करोड एक लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिए । यस्तै, वन क्षेत्र रोयल्टीबापत २३ लाख संकलन भएको उनले बताए ।
यसैगरी निजी तथा सामुदायिक वन प्रदेश सेवा शुल्कअन्तर्गत १० लाख ४३ हजार र राष्ट्रिय वनको काठ दाउरा बिक्रीबाट एक लाख ८९ हजार राजस्व संकलन गरिएको कार्यालय प्रमुख शाण्डिल्यले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा कार्यालयको वित्तीय प्रगति ६९ प्रतिशत रहेको उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारबाट चार करोड २४ लाख ४० हजार र संघीय सरकारबाट एक करोड ३० लाख ३९ हजार गरी पाँच करोड ५४ लाख ७९ हजार बजेट आएको थियो । जसमध्ये तीन करोड ८१ लाख ५५ हजारमात्र खर्च भएको छ । कार्यालयको भौतिक प्रगति भने ८५ प्रतिशत रहेको उनले बताए ।
प्रदेश सरकारले कार्यक्रमतर्फ (पुँजीगत खर्च) का लागि विनियोजन गरेको रकममा ९७ दशमलव ९१ प्रतिशत वित्तीय प्रगति रहेको छ । चालू खर्च (प्रशासनिक खर्च) को वित्तीय प्रगति भने ६३ दशमलव ३५ प्रतिशत मात्र रहेको बताइएको छ । यस्तै, विकासतर्फ शतप्रतिशत प्रगति रहेको र आवश्यक कर्मचारी पद रिक्त रहेकाले चालू खर्चको प्रगति कम हुन गएको कार्यालय प्रमुख शाण्डिल्यले बताए ।
कार्यालयलाई आवश्यक कर्मचारीको पद रिक्त रहेकाले चालू खर्चको वित्तीय प्रगति कम हुन पुगेको हो । उनले भने, ‘त्यसैले कार्यालयको समग्र वित्तीय प्रगति कम देखिएको हो ।’ संघ सरकारबाट आएका कार्यक्रम भने सञ्चालन गर्न नसक्ने अवस्था आएकाले प्रगति कम देखिएको उनले बताए । वातावरण अनुकुलता नै नहेरी पहुँचका आधारमा ल्याएका केही संघका कार्यक्रम सञ्चालन हुन नसकेका कारण प्रगति कम देखिएको उनले बताए । संघको प्रशासन (चालू खर्च) तर्फ ९१ र कार्यक्रम (पुँजीगत) तर्फ ७० प्रतिशत प्रगति रहेको उनले जानकारी दिए ।