काठमाडौं, असार १४
साधना लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी सात करोड सात लाख ८० हजार रुपैयाँ बराबरको सात लाख सात हजार आठ सय कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
संस्थाका अनुसार ग्लोवल आईएमई क्यापिटलमार्फत यही असार २१ गतेबाट खुल्ला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा असार २४ गते र ढिलोमा साउन चार गते बन्द हुने छ । बिक्री खुल्ला गरिएको कुल सेयर मध्येमा शून्य दशमलव ५० प्रतिशत अर्थात १० हजार आठ सय ९० कित्ता कर्मचारीहरुको लागि एवं पाँच प्रतिशत अर्थात ३५ हजार तीन सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।
यसबाहेकको बाँकी सेयर भने सर्वसाधारणको लागि बिक्री गरिने संस्थाले जनाएको छ । सर्वसाधारणहरुले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । अधिकृत पुँजी ३० करोड र जारी पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुँजी १४ करोड ७० लाख रुपैयाँ रहेको छ ।
साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुग्ने छ । संस्थाले चालू आर्थिक ब्याजको तेस्रो त्रैमासिक अवधिमा एक करोड ९० लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ९९ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ करोड ७० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड १६ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड ५२ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ५० लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३३ लाख ४९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले १६ करोड ८१ लाख ८९ हजार रुपैयाँ निक्षेप संंकलन गरी ८१ करोड ५३ लाख ३६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड १९ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९९ लाख ७६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।