काठमाडौं, असार १४
नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड १९) ले वित्तीय क्षेत्रमा पारेका असरका बारेमा सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुबीच छलफल गरेको छ । राष्ट्र बैंकका अनुसार डिजिटल प्रविधिको माध्यमद्वारा सार्क राष्ट्रका गभर्नरहरुबीच भर्चुअल बैठक सम्पन्न गरिएको हो ।
उक्त सम्मेलनमा नेपाल राष्ट्र बैंकसँगै सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू दा अफगानिस्तान बैंक, बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, रिजर्व बैंक अफ इण्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका अधिकारीहरूको सहभागिता थियो । सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले स्वागत मन्तव्य राख्दै कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असरबारे जानकारी दिएका थिए ।
सम्मेलनमा अनुुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले नेपालको वर्तमान आर्थिक स्थितिको चित्रण गर्दै कोभिड–१९ को असरलाई सम्बोधन गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे जानकारी दिए ।
यसैगरी, अन्य केन्द्रीय बैंकका अधिकारीहरूले पभन कोभिड १९ को असर न्यूनीकरणको निम्ति आ–आफ्ना बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्थाबारे जानकारी दिएका थिए । उक्त गोष्ठीको आयोजनाबाट कोभिड १९ का कारण वित्तीय क्षेत्रमा परेको असर र त्यसको न्यूनीकरणका निम्ति आवश्यक मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको तर्जुमामा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
कार्यक्रममा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गी मास्केले सम्पुर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । गभर्नरको कार्यालयका निर्देशक एवम् सार्क फाइनान्स संयोजक गोविन्दप्रसाद नागिलाले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र लगायतको सहभागिता रहेको थियो ।
सार्क फाइनान्स’ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आबद्ध मुलुकका केन्द्रीय बैंकहरूको सञ्जाल भएको र यो संस्था सार्क राष्ट्रहरूबीच समष्टिगत आर्थिक नीतिको विषयमा खुला छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।