काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेशलाई भारत र चीनसँग जोड्न चाँडै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापन गर्ने सरकारको योजना रहेको जानकारी दिए ।
‘चौपातो नेपाल’द्वारा राजधानीमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठीमा गृहमन्त्री लेखकले तिंकर नाकामा अध्यागमन कार्यालय स्थापना गरी तेस्रो मुलुकका नागरिकलाई कैलाश मानसरोवर जाने बाटो बनाउने योजना अगाडि बढाएको बताए । महाकाली कोरिडोर, सेती लोकमार्गलगायत महत्वपूर्ण परियोजना अगाडि बढाएर छिमेकी देश भारत तथा चीनसँग जोड्न लागिएको उनको भनाइ थियो । ‘सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्छौं । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्छ’, उनले भने ।
यस्तै, कार्यक्रममा गृहमन्त्री लेखकले विगत १८ वर्षदेखि थाँती रहेको शान्तिप्रक्रिया निष्कर्षमा पु¥याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । शान्तिप्रक्रियाका काम करिब अन्तिम चरणमा पुगेको उनको भनाइ थियो । प्रमुख दुई राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार बनेको उल्लेख गर्दै उनले देशमा दिगो शान्ति र सुशासन कायम गरी जनतामा देखिएको निराशा चिर्न सफल हुने बताए । राजनीतिक अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको उनको भनाइ थियो ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए । सरकार निर्माणका क्रममा विभिन्न राजनीतिक दल सम्मिलित समीकरण बन्ने र भत्किने क्रम चलिरहँदा सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्न थालेकाले विधिको शासन सुनिश्चितका लागि वर्तमान सरकार गठन भएको उनले दाबी गरे । शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रूत गतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कायम गर्न र रोजगारी सिर्जना गर्न वर्तमान सरकार सफल हुने उनले बताए ।
‘सामान्यतया संसद्मा रहेका ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वाभाविक देखिँदैन । कतिपय अवस्थामा स्वाभाविक मानिँदैन’, उनले भने, ‘तर मुलुकमा महत्वपूर्ण ‘एजेन्डा’ अगाडि आउँछन् । त्यसको कार्यसम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका साझा कार्यभार सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा देशका ठूला पार्टी एक ठाउँमा उभिएका हाम्रो इतिहास छ ।’ कार्यक्रममा सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिएका आरडी प्रभास चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा योगदान दिएकी विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, नेपाली शास्त्रीय गीत–सङ्गीतको क्षेत्रका तिलकसिंह पेला, प्रशासन क्षेत्रमा योगदान पुर्याएका डा हरिदत्त पाण्डेय र साहित्यमा योगदान दिएका हेमबाबु लेखकलाई सम्मान गरिएको थियो । यस्तै, सुदूरपश्चिमको भाषामा योगदान दिएका डम्बर शर्मा बडूलाई मरणोपरान्त सम्मान गरिएको छ ।