काठमाडौं, सरकारले कृषि अनुदान लगेर काम नगर्नेहरूको सूची सार्वजनिक गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूची सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । मन्त्रालयमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले भने, ‘कृषि मन्त्रालयले पछिल्लो पाँच÷सात वर्षमा अर्बौँ रुपैयाँ अनुदान दिएको रहेछ । सबै विवरण सार्वजनिक गर्नुपर्छ भनिसकेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।’
आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलनदेखिका यावत समस्या रहेको चर्चा गर्दै उनले दुग्ध किसानको बक्यौतादेखि उखु किसानको पैसा दिने गरी काम गरिरहेको जानकारी दिए । मन्त्री अधिकारीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २५ करोड दुग्ध किसानको हातमा गइसकेको जानकारी दिए । डेढ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाउँदै उनले भने, ‘बाँकी रकम पनि निकासका लागि प्रयास भइरहेको छ । उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दशैँको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ । रकम निकासका लागि प्रयास गरिरहेको छु ।’ मन्त्री अधिकारीले कृषि मन्त्रालय र असली किसानको बीचमा ठूलो खाडल रहेको र त्यसलाई कसरी पुर्ने भनेर आफू लागि परेको बताए ।
फरक प्रसङ्गमा उनले राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको स्वीकार्दै नेपाली कांग्रेस र नेकपा (एमाले)को वर्तमान गठबन्धनले जनतामा उत्साह जगाउने गरी काम गर्नुपर्ने र गर्ने बताए । ‘राज्यप्रति जनताको भरोसा टुटेको छ, त्यसमा उत्साह जगाउन सबैले भूमिका खेल्नुपर्नेछ’, उनले भने, ‘जिम्मेवारीबाट भाग्न सकिने अवस्था छैन । भागिँदैन ।’ आफूबाट कुनै गल्ती गरे र भए सञ्चारमाध्यम र सञ्चारकर्मीले औँल्याइदिन आग्रह गर्दै मन्त्री अधिकारीले त्यसलाई आफूले सकारात्मकरूपमा ग्रहण गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।