देउखुरी (दाङ)। प्रहरीले घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । क्याम्पस परिसरमा बिहीबार बिहान बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेको प्रहरी प्रवक्ता तिमल्सिनाले बताए । उनले भन, “सुेतली बम चर्को आवाजमा पड्केको थियो ।”
घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की पक्राउ परेको प्रहरी प्रवक्ता तिमल्सिनाले बताएका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् । उनका अनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये थापाले क्याम्पस अगाडि सडकमा बम फालेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिए ।