काठमाडौं । ग्लोकलद्वारा आयोजित गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२४ का अन्तिम छ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ । देशभरिका किशोर किशोरीहरूबाट कुल सात सय नौ आवेदन आएकोमा बिहीबार अन्तिम छ प्रतिस्पर्धीको नाम घोषणा गरिएको हो ।
किशोरकिशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरू माझ चिनाउने कार्यक्रम ग्लोकल टिन हिरो नेपालको यो दशौँ संस्करण हो । हरेक वर्षझैँ यस वर्ष पनि सेप्टेम्बर १, २०२४ मा अवार्ड कार्यक्रम र सम्मेलनमार्फत गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल विजेताको नाम घोषणा गरिनेछ । अन्तिम छ मा आशीष पन्थी, घनश्याम विश्वकर्मा, निश्चल भट्टराई, पूर्णिमा तिम्सिना, सजनी शर्मा र श्रीजय सुवेदी रहेका छन् । उत्कृष्ट २० किशोरकिशोरीहरूबाट उनीहरूको कामको सुरुवात, दिगोपन र प्रभावको आधारमा अन्तिम छ प्रतिस्पर्धीकोे छनोट निर्णायक टोलीद्वारा भएको हो । यस वर्षको निर्णायक टोलीमा एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका डाइरेक्टर आशीष तिवारी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लुडब्लुएफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, नेपालका लागि युएन वुमनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेको, गोल्छा ग्रुप प्रालिकी डाइरेक्टर सीमा गोल्छा तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहेका छन् ।
यस वर्ष पनि अन्तिम छ प्रतिस्पर्धीहरूले आत्मदक्षता कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् जहाँ उनीहरूले उद्योगका शीर्ष कर्पोरेट व्यक्तित्वहरू, राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्ने मौका पनि पाउनेछन् । सेप्टेम्बर १ मा निर्णायकहरूको प्यानलद्वारा आन्तिम छ प्रतिस्पर्धीको व्यक्तित्व मापदण्ड, ज्ञान र दूरदर्शनको मापनको लागि अन्तर्वार्ता हुने र सोही दिन २०२४ को विजेता घोषणा गरिनेछ । यस्तै, एसएमएस भोटिङ राउन्ड अगस्ट २१, बेलुका ५ बजेदेखि अगस्ट ३१, ५ बजेसम्म खुला रहने जनाइएको छ ।