काठमाडौं । समृद्धि फाइनान्सको जनकपुर शाखाले दोस्रो वार्षिकोत्सव मनाएको छ । शाखा कार्यालयले बुधबारका दिन आफ्नो दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा शाखाका शाखा प्रबन्धक अमर कुमार चौधरीले उपस्थितलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनहरूमा पनि फाइनान्सले उच्च साथ/सहयोगको अपेक्षा राखेको बताए । नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको फाइनान्सले स्थानीय व्यापारीहरू, बचतकर्ताहरू, बुद्धिजीवी आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।
फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।