काठमाडौं । काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ । सोमबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्यान्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए ।
फेस्टिभल शुक्रबारदेखि ठमेलस्थित छाया सेन्टरको क्युएफएक्स सिनेमा हलमा सुरु हुनेछ भने भदौ १६ गते आइतबार समापन हुने जनाइएको छ । यो नेपालमा आयोजना हुन लागेको चौथो थाई फिल्म फेस्टिभल हो, यसको अघिल्लो संस्करण सन् २०१३ मा भएको थियो ।
राजदूत सिरिसोर्नले नेपाल र थाइल्यान्डबीचको लामो सम्बन्धलाई सम्मान गर्न र चलचित्रको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई नजिक ल्याउन फेस्टिभलको आयोजना गरिएको बताए । साथै, उनले भविष्यमा पनि यो फेस्टिभल निरन्तर आयोजना गरिने जानकारी दिए । यस फेस्टिभलमा थाई चलचित्र बजारमा प्रशंसित र पुरस्कार विजेता छ वटा चलचित्रहरू प्रदर्शन गरिनेछन् । दर्शकहरूले कमेडी, रोमान्स, र हरर श्रेणीका चलचित्रहरूको आनन्द लिनुका साथै निःशुल्क थाई खानाको स्वाद समेत चाख्न पाउनेछन् ।
फेस्टिभलको उद्घाटन भदौ १४ गते साँझ ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ चलचित्रको प्रदर्शनसँगै हुनेछ । त्यसपछि सोही साँझ ‘प्याड थाई द मुभी’ देखाइनेछ । भदौ १५ गते मध्यान्ह ‘टुगेदर द मुभी’ र दिउँसो ‘अन्डरटेकर’ प्रदर्शन हुनेछ ।