काठमाडौं, साउथ एसिया रिजन फाइनान्सियल इन्कुल्सन इनिसियटिभ (सारफी)को नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । राष्ट्र बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सारफीको अध्यक्ष चयन भएका हुन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्सात्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई) ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ । सो बैठकका क्रममा सारफीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका हुन् ।
बैठकले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)लाई सारफीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सारफीको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष रहेका थिए । सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेडसीमा सम्पन्न ग्लोबल पोलिसी फोरमको १२औँ बैठकका क्रममा सारफी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् । क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नेलगायतका उद्देश्य सारफी स्थापना गरिएको थियो ।